Wednesday, June 20, 2018
जटिल घाउको उपचारमा अचूक बन्दै ‘एलपिआरएफ’
अइयाऽऽऽऽऽऽ’ शरीरको कुनै अंगमा सानो घाउ तथा चोट लाग्यो भने मानिसको मुखबाट सबैभन्दा पहिले निस्कने शब्द हो यो। घाउको आकार तथा गहिराइ जति ठूलो छ त्यसले दिने दुखाइ र पीडा पनि त्यति नै बढी हुन्छ। त्यसैले मानिसले यस्तो दुखाइ र अइया शब्दबाट छिटोभन्दा छिटो छुटकारा पाउन खोज्छन्। यसका लागि हरसम्भव चिकित्सकीय सहित घरायसी उपाय पनि अपनाउँछन्।
तर, जति गर्दा पनि घाउ निको भएन भने के होला ? लामो समयसम्म पनि निको नभएको जटिल घाउले कति पिडा देला ? अझ उक्त घाउ निको नभएकै कारण हात तथा खुट्टा नै काट्नु पर्ने अवस्था आयो भने ? मानिसले यस्तो अवस्थाको कल्पना समेत गर्न चाँहदैन।
तर, बिडम्वना लामो समयसम्म घाउ निको नभएका कारण त्यसबाट हुने थप क्षतिबाट जोगिन धेरै बिरामीको हात–खुट्टा काटिएको छ। अझै पनि वर्षौंसम्म घाउ बोकेर अस्पताल चाहर्ने बिरामी थुप्रै छन्। एकातिर घाउका कारण आर्थिक र अंग गुमाउनु पर्ने वाध्यता छ भने अर्कोतर्फ त्यसले मानिसको काम गर्नसक्ने क्षमतामा ह्रास ल्याउनुका साथै सामाजिक रुपमा पनि असर गरिरहेको छ।
यस्तै जटिल घाउका बिरामीलाई लक्षित गर्दै उपचारको क्षेत्रमा नयाँ प्रविधि नेपाल भित्रिएको छ। चिकित्सा क्षेत्रमा उपलब्ध भएका हरसम्भव प्रयास गर्दा पनि घाउ निको नभएर अंग नै गुमाउने अवस्थामा पुगेका बिरामीका लागि यो प्रविधि अचूक साबित हुँदै गएको छ।
यो प्रविधिबाट उपचार गर्दा बिरामीको अंग काट्नुपर्ने वाध्यताको अन्त्य भएको छ भने उपचारका क्रममा खर्च हुने ठूलो धनरासी र समयको वचत हुने भएको छ।
हात–खुट्टा नै काट्नुपर्ने अवस्थामा पुगेका बिरामीका लागि वरदान बन्दै गइरहेको उक्त उपचार विधि हो, एलपिआरएफ (ल्युकोसाइट–प्लेटलेट रिच फाइब्रिन)। यो प्रविधिमा बिरामीको आफ्नै शरीरबाट रगत निकालिन्छ र त्यसलाई विशेष प्रकारको उपकरणबाट स्वरुप परिवर्तन गरेर झिल्ली बनाइन्छ। उक्त झिल्लीलाई बिरामीको घाउमा लगाएर निको बनाउने काम गरिन्छ।
प्राध्यापक डा नेलसन पिन्टोले चिलीबाट सुरु गरेको यो प्रविधि चिलीसहित विश्वका केही देशमा निकै प्रभावकारी भइरहेको छ। नेपालमा भने दन्तरोग विशेषज्ञ डा सुशील कोइरालाको अगुवाईमा पुण्यार्जन फाउन्डेसनले यो प्रविधि नेपाल भित्र्याएको हो। डा कोइरालले डा पिन्टोलाई नेपालमा ल्याएसँगै नेपालमा पनि यो प्रविधिमार्फत घाउको उपचार हुन थालेको हो।
Labels:
news
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment